काठमाडौँ – काठमाडौँमा आजदेखि सुरु भएको आईसीसी टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिताको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको चुनौती दिएको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको हो ।
सिंगापुरका लागि रोहन रंगराजनले सर्वाधिक ४६ रन बनाए । उनले ३० बलमा ९ चौका र १ छक्कार प्रहार गरे । यस्तै आर्यविर चौधरीले २६ बलमा ५ चौकाको मदतमा ३७ रनको योगदान दिए भने मनप्रित सिंहले २६ बलमा ३ चौका प्रहार गर्दै २४ रन बनाए । यस्तै अक्ष पुरी १३ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका अविनास बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन दिए । यस्तै सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले समान २–२ विकेट लिए । सोक्रममा सन्दीपले ४ ओभरमा १८ रन, गुल्सनले ४ ओभरमा २१ रन तथा करणले ४ ओभरमा ३६ रन खर्चिए ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने छनोट प्रतियोगितामा एशियाका ८ देशले प्रतिस्पर्धा गर्दैछन् । ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ र नेपाल समूह ‘ए’मा रहेको छ । जहाँ सिंगापुर, ओमान र मलेसिया छन् । यस्तै समूह ’बी’ मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।