काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय सवारी दुर्घटनामा ठूलो संख्यामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज एक दिन सार्वजनिक शोक बिदा दिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवले शोक वक्तव्य जारी गर्दै पालिकाभरि शोक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । दुर्घटनामा ज्यान गुमाएका नागरिकका परिवारलाई प्रतिमृतक ५० हजार रुपैयाँका दरले काजक्रिया खर्च उपलब्ध गराउने निर्णयसमेत गाउँपालिकाले गरेको छ ।
कात्तिक २६ गते काठमाडौंबाट सर्लाहीको चक्रघट्टा जाँदै गरेको विद्युतीय सवारी मकवानपुरको भीमफेदी क्षेत्रमा दुर्घटनामा परेको थियो । दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै १३ जनाको मृत्यु भएको थियो ।
छठ पर्व मनाउन घर फर्किने क्रममा आफ्ना नागरिकले ज्यान गुमाएपछि सुन्दरपुरसहित चक्रघट्टा क्षेत्र शोकमा डुबेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ । शोक बिदाका दिन प्रशासनिक तथा सार्वजनिक सेवा बन्द रहने भए पनि स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक सेवा भने नियमित सञ्चालन हुने जनाइएको छ ।


























