हेटौँडा – मकवानपुरको भीमफेदी गाउँपालिका–स्थित चिसापानी गढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

पीडित परिवारलाई उचित क्षतिपूर्ति र अन्य सुविधा उपलब्ध गराउनुपर्ने माग राख्दै उनीहरूले शव उठाउन नमानेका हुन् । मृतकका आफन्तले प्रतिपरिवार १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने, घाइतेको उपचार खर्च सरकारले व्यहोर्नुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।


ADVERTISEMENT

#


मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार प्रशासनले कानुनले तोकेबमोजिमको क्षतिपूर्ति मात्रै उपलब्ध गराउन सकिने जनाएको छ । तर, मृतकका आफन्तले थप क्षतिपूर्तिको माग गरिरहेका छन् ।

मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब पाँच सय मिटर तल खस्दा दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेकोमा ६ जना घाइते भएका छन् । घाइतेहरूको हेटौँडा, भरतपुर र काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

#
#


मृतक १४ जनाकै शव हेटौँडा अस्पतालको शवगृहमा राखिएको छ । आफन्तहरू पनि अस्पताल परिसरमै रहेका छन् । बिहीबार शवको पोस्टमार्टम गर्ने प्रयास भए पनि परिवारले सहमति नदिएको प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अधिकारीले कानुनअनुसार पाउनुपर्ने क्षतिपूर्ति स्वीकार नगरे पोस्टमार्टम तथा शव व्यवस्थापनको प्रक्रिया कानुनबमोजिम अघि बढाइने बताएका छन् ।