काठमाडौँ– सरकारले सबैभन्दा बढी कर बुझाउने व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरेको छ । जावलाखेल ग्रुपका विजय शाह सबैभन्दा बढी कर बुझाउने व्यक्ति बनेका छन् ।
व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा मदिरा व्यवसायी शाह सम्मानित भएका हुन् । उनी गतसाल पनि सोही पुरस्कारबाट सम्मानित भएका थिए ।
संस्थागतर्फ बढी कर बुझाउनेमा भने सरकारी स्वामित्वको नेपाल टेलिकम परेको छ। गत वर्ष पनि टेलिकम सबैभन्दा बढी कर बुझाउने कम्पनी बनेको थियो। निर्यातजन्य उद्योगमध्ये सबैभन्दा बढी कर बुझाउनेमा बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालि भएको छ। यस्तै बढी कर तिर्ने विशेष उद्योगमा बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स प्रालि बनेको छ।
यस्तै सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्नेमा बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रालि भएको छ। सूर्य नेपाल २०७५ साउनदेखि २०८० असार मसान्तसम्म भ्याट विवरण र त्यसबमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएको करदाता हो। गत आर्थिक वर्षमा सबैभन्दा बढी भ्याट दाखिला गर्नेमा सूर्य नेपाल भएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ।
बैंकतर्फ ग्लोबल आइएमई बैंक भएको छ। ग्लोबल आइएमई बढी कर तिर्ने बैंकको सूचीमा पर्दै आएको छ। यसपटक बिमा कम्पनीतर्फ नेपालभारत संयुक्त लगानीमा स्थापित लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल लिमिटेड ९एलआइसी० भएको छ।
कृषि तथा पशुपंक्षी उद्योगतर्फ ओबिसी फुड्स एन्ड फिड्स प्रालि भएको छ।ओबिसी फूड गत वर्ष पनि बढी कर तिर्ने कृषिजन्य उद्योग भएको थियो। लघुवित्त संस्थामा छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ।
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल प्रालि, पर्यटनमा मनकामना केबुलकार, ऊर्जामूलक उद्योगमा भोटेकोसी पावर कम्पनी प्रालि, रेमिट्यान्यान्स कारोबार गर्नेमा आइएमई लिमिटेड बढी कर तिर्ने कम्पनी भएका छन् आइएमई लगातार बढी कर तिर्ने रेमिट कम्पनी बन्दै आएको छ।
बिमा व्यावसायतर्फ जीवन बिमा कारोबार गर्ने लाइफ इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड भएको छ।मध्यमस्तरको करदाताको सम्मान पाउनेमा सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्मानित भएको छ।
कर दिवस समापन अवसरमा बिहीबार आयोजित एक कार्यक्रममा बढी कर बुझाउने करदातालाई अर्थमन्त्री डा। प्रकाशशरण महतले सम्मान गरेका हुन्। बढी कर बुझाउनेमा विभिन्न १६ उद्योग छन्।