काठमाडौँ– हरि बोधिनी एकादशी, भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइएको छ ।
हरि शयनी एकादशीका दिनमा क्षीरसागरमा सुत्नुभएका विष्णु यस दिन ब्युँझनुहुने भएकाले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भन्ने गरिएको शास्त्रीय मान्यता छ । आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ ।
हरिशयनी एकादशीका दिन घर घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रुपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ । कार्तिक महिनाभर सबै देव देवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ ।
हरि बोधिनी एकादशीका अवसरमा काठमाडौँ उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौँका शेष नारायण र इचँगुनारायण स्थानमा विशेष मेला लागेको छ ।