कास्की– कास्कीमा केपी ओली राष्ट्रिय कप टी–२० क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ । मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो बीच प्रतिस्पर्धा हुँदैछ । पोखरा रंगशालाको क्रिकेट मैदानमा हुने उद्घाटन खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।
प्रतियोगितामा ३ विभागीय, ७ प्रदेश र २ आयोजक सहित १२ टिमको सहभागिता रहनेछ । युवा खेलाडी उत्पादनका लागि आयोजकले आफ्ना दुई टिम प्रतियोगितामा सहभागी गराउने एकेडेमी अन्तर्गत गठित क्रिकेट विभागका संयोजक शक्ति गौचनले बताए ।
एकेडेमीले हालै देश भरिका २ सय भन्दा बढी यूवा खेलाडीबाट छनोट गरी दुई टिम बनाएको हो । तालिका अनुसार समूह ‘ए’मा बागमती, कर्णाली र मदन भण्डारी स्पोर्ट्स एकेडेमी रातो रहेको छ । समूह ‘बी’मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’मा नेपाल पुलिस, मधेश र सुदूरपश्चिम प्रदेश तथा समूह ‘डी’मा त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी निलो रहेका छन् ।
मंसिर १५ सम्म हुने प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । विजेता टिमले ५ लाख र उपविजेता टिमले नगद २ लाख ५० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।