काठमाडौं – जापानको आइची इन्टरनेसनल एरिनामा जारी २०औँ एसियाली खेलकुदमा नेपालको जुडो टोलीले पहिलो चरणमै कठिन चुनौती सामना गरेको छ । प्रतियोगिताअन्तर्गत विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका नेपालका चारै खेलाडी पराजित भएका छन् ।

महिला ४८ केजीतर्फ राउन्ड अफ १६ मा नेपालकी निशा श्रेष्ठ हङकङकी का ली वोङसँग २ मिनेट ३२ सेकेन्डको खेलमा इप्पोनबाट पराजित भइन् । यस्तै, महिला ५२ केजीतर्फ देवकीमाया श्रेष्ठ भियतनामकी थि नगान हा लामसँग युकोबाट पराजित भइन् ।

पुरुषतर्फ ६६ केजी तौल समूहको राउन्ड अफ ३२ मा नेपालका विशाल विक हङकङका का कि वोङसँग वाजाआरीबाट पराजित भए । त्यसैगरी, पुरुष ६० केजीतर्फ राउन्ड अफ १६ मा प्रतिस्पर्धा गरेका विकास विक उज्बेकिस्तानका समरिद्दिन कुचकारोभसँग ३ मिनेट १२ सेकेन्डमा इप्पोनबाट पराजित भए ।

यससँगै प्रतियोगिताको जुडोमा प्रतिस्पर्धा गरेका नेपालका चारै खेलाडीले आ–आफ्नो खेलमा हार व्यहोरेका छन् ।