काठमाडौं-‘काठमाडौं उपत्यका खानेपानी लिमिटेड जाउलाखेल’ ले अघिल्लो साता ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयमा एक लाख नौ हजार रुपैयाँको बिल पठायो । १३ वर्षसम्म धारामा पानीको थोपा नझरे पनि यति धेरै रकमको बिल आएपछि कार्यालय प्रमुख झलक शर्मा पौडेलले असन्तुष्टि व्यक्त गरे । पौडेलले भने, ‘जनस्वास्थ्यको अफिस ०६१ सालमा स्थापना भएको थियो । त्यसपछि खानेपानी कार्यालयमा धारो जोडिदिन निवेदन दिएका थियौं। धारो त जोडियो तर एक थोपा पानी कहिल्यै झरेन ।’


ADVERTISEMENT


वर्षौंदेखि कुनै जानकारी नदिई एकैपटक यति धेरै महसुल पठाएकोमा पौडेल आश्चर्यचकित भएका छन् । उनले पानी कहिल्यै नछोडिएको हुँदा यो रकम मिनाहा गराइपाऊँ भनी खानेपानी कार्यालय ललितपुरमा पत्राचार गरेको तर जवाफ नआएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


धारामा पानीको थोपा नचुहिए पनि बिलअनुरूपको पैसा अनिवार्य तिर्नैपर्ने समस्या ललितपुरका धेरै सेवाग्राहीले वर्षौंदेखि झेल्दै आएका छन् । काठमाडौं उपत्यका खानेपानी कार्यालय जाउलाखेलका प्रमुख विश्वराज जोशी भने यस्तो बेथितिको जिम्मेवारी स्विकार्न चाहँदैनन् । ग्राहककै कारण समस्या बढेको दाबी उनको छ ।

‘ग्राहकले समयमा आएर गुनासो गरे यस्ता समस्या चाँडै समाधान गर्न सकिन्छ । कसैलाई दुःख दिने नियत हाम्रो छैन’, उनले भने । ग्राहकले पानी आएन भनेर गुनासो राखिसकेपछि मात्र अस्थायी रूपमा धारा बन्द गर्ने व्यवस्था रहेको उनले बताए । ‘अन्यथा बिल चढिरहन्छ तर वर्ष दिन पहिला ग्राहकले पानी खाए कि खाएनन् भन्ने कुरो हामीले कसरी प्रमाणित गर्ने ? ’, उनको प्रश्न छ।

जिल्ला जनस्वास्थ्य कार्यालयको हकमा निवेदन हेरिसकेपछि सुपरभाइजर, इन्जिनियर तथा ओभरसियरले स्थलगत निरीक्षण गर्ने र उनीहरूले पानी आउने–नआउने निधो गरेपछि जरिवानामा ९० प्रतिशतसम्म मिनाहा गर्न सकिने नियम बोर्डले बनाएको जोशीले बताए । ‘तर महसुलमा एक पैसा मिनाहा गर्न मिल्दैन,’ उनले भने ।

ललितपुरमा मात्रै झन्डै ४५ हजार खानेपानीका ग्राहक छन् । निश्चित नियमअनुसार चल्नुपर्ने हुँदा ग्राहकको बिल मिनाहा गर्न नसकिने उनको भनाइ छ । ‘पानी नआए तुरुन्त खानेपानी कार्यालयमा सम्पर्क गर्नुपर्छ,’ उनले थपे ।