काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइन बरामद गरेको छ । थाइल्यान्डबाट काठमाडौं आएका एक भारतीय नागरिकको लगेजबाट साढे ५ किलो हेरोइन बरामद गरिएको हो ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार शनिबार बिहान शङ्का लागेर जाँच गर्ने क्रममा खरायो र बिरालोको खानाको प्याकेटभित्र लुकाएर ल्याइएको अवस्थामा हेरोइन फेला परेको थियो ।
प्रहरीले लागुऔषधसहित भारतको महाराष्ट्र निवासी ५२ वर्षीय रेवराज टिघारेलाई पक्राउ गरेको छ । बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।
अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिक यसअघि दुई पटक लाओसबाट काठमाडौं हुँदै भारत गएको खुलेको छ । उनको यात्रा विवरणमा जिम्बाब्वे, सुडान, बंगलादेश र कम्बोडियाको भ्रमणसमेत देखिएको प्रहरीले जनाएको छ ।
लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार उनी अन्तर्राष्ट्रिय लागुऔषध कारोबारको सञ्जालमा संलग्न मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कानुनअनुसार सेतो हेरोइन कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको सजाय र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ ।


























