स्याङ्जा – नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलले तर्साएर शासन गर्ने प्रयास नगर्न सरकारलाई चेतावनी दिइएको छ। उनले नेपाली काङ्ग्रेस रहेसम्म देशमा लोकतन्त्र र प्रेस स्वतन्त्रता कसैले खोस्न नसक्ने बताए ।

नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महामन्त्री पौडेलले लोकतन्त्रको वकालत गर्ने काङ्ग्रेस पार्टीको आवाज दबाउने प्रयास भइरहेको बताए। निर्वाचन जित्दैमा कानुन मिच्ने लाइसेन्स प्राप्त नहुने उल्लेख गर्दै उनले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको सम्मान गर्नुपर्नेमा जोड दिए।


ADVERTISEMENT

#


काङ्ग्रेसलाई कमजोर बनाएर देशमा लोकतन्त्र नै कमजोर बनाउने खेल भइरहेको भन्दै उनले मुद्दा हाल्दैमा दुई जना सभापति नहुने स्पष्ट पारे। सरकारविरुद्ध अदालतमा मुद्दा पर्दैमा अर्को सरकार नबन्ने उदाहरण दिँदै उनले राजनीतिक विषयलाई कानुनी प्रक्रियासँग जोडेर भ्रम सिर्जना गर्न नहुने धारणा राखे।

वर्तमान सरकारले नागरिकको जनस्तरसम्म पुगेर काम गर्न नसकेको आरोप लगाउँदै महामन्त्री पौडेलले संविधान संशोधन, भोटेकोसी बाढी प्रभावितको समस्या तथा सुकुम्बासी समस्या समाधानमा सरकारको अपरिपक्वता देखिएको बताउनुभयो। सरकार नागरिकको विश्वास गुमाउँदै गएको उनको भनाइ थियो।


ADVERTISEMENT

#
#


काङ्ग्रेसले निर्वाचन हारे पनि विचारको जित भएको उल्लेख गर्दै पौडेलले नेपाली काङ्ग्रेस राजनीतिको विश्व विद्यालय भएको बताए। उनले आगामी मंसिर १ गतेदेखि स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै ‘हामी तयार छौँ’ भन्ने अभियान सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले सबै राजनीतिक दल एउटै हुन् भन्ने भाष्य निर्माण भइरहेको अवस्थामा नेपाली काङ्ग्रेस अन्य दलभन्दा फरक रहेको कुरा जनतालाई बुझाउन आवश्यक रहेको बताए । काङ्ग्रेसले आफ्नो इतिहास, विचार र योगदान जनतामाझ स्पष्ट पार्न सके पार्टी पुनः पुरानै गौरवशाली इतिहासमा फर्किने उनको भनाइ थियो।

शर्माले सत्यको मृत्यु हुँदा अराजकताले शासन गर्ने अवस्था आउने उल्लेख गर्दै अहिले देशमा त्यस्तै परिस्थिति देखिएको बताए। उनले सत्य बोल्न नछोड्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्यहरू सुवास शर्मा, अनुप श्रेष्ठ, खुमा अर्याल, युवराज पाण्डे, कल्पना तिवारी र सरस्वती अर्याललगायतले नवनिर्वाचित प्रदेश कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी नेपाली काङ्ग्रेस वालिङ नगरसभापति पदम गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रदेश सभापतिका निकटतम प्रतिस्पर्धी छवि आले तथा निवर्तमान प्रदेश सभापति अर्जुन खनालले पनि आफ्नो धारणा राखेका थिए । नेपाली काङ्ग्रेस स्याङ्जाका जिल्ला सभापति राजु थापाले पार्टी संगठन र आगामी राजनीतिक यात्राका विषयमा धारणा राखेका थिए ।

नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) का प्रदेश सभापति लक्ष्मण अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजु तिवारीले गरिएको थियो। कार्यक्रममा नवनिर्वाचित प्रदेश कार्यसमितिलाई पद हस्तान्तरणसँगै संगठन सुदृढीकरण र पार्टीको आगामी राजनीतिक रणनीतिका विषयमा प्रशिक्षणसमेत दिइएको थियो।