काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले स्थापनाको ९०औँ वार्षिकोत्सव मनाउने तयारी गरेको छ ।
वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंकले नौ दशकको गौरवमय यात्रा पूरा गर्न लागेको अवसरमा वार्षिकोत्सव विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
बैंकले आफ्नो ९०औँ वार्षिकोत्सवका अवसरमा संस्थाको ऐतिहासिक यात्रा, संस्थागत उपलब्धि, बैंकिङ सेवा तथा भावी प्रतिबद्धताबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्य राखेको जनाएको छ ।
बैंक स्थापनाकालदेखि नै नेपालको आर्थिक तथा वित्तीय विकास, बैंकिङ सेवाको विस्तार र वित्तीय पहुँच अभिवृद्धिमा योगदान पुर्याउँदै आएको छ । समय र प्रविधिमा आएको परिवर्तनसँगै बैंकले आफ्ना सेवा तथा सुविधालाई आधुनिक, सहज, सुरक्षित र ग्राहककेन्द्रित बनाउँदै लगेको जनाएको छ ।
वार्षिकोत्सवलाई लक्षित गर्दै बैंकले विभिन्न सञ्चारमाध्यममार्फत विशेष विज्ञापन प्रकाशन तथा प्रसारण गर्ने कार्यक्रमसमेत अघि बढाएको छ ।
यसबाट बैंकको संस्थागत पहिचान अभिवृद्धि गर्नुका साथै सर्वसाधारणमा बैंकिङ सेवा तथा वित्तीय सचेतना विस्तार गर्ने अपेक्षा गरिएको छ ।
नौ दशकको यात्रामा बैंकले हासिल गरेका उपलब्धि र आगामी योजनालाई सार्वजनिक गर्दै आधुनिक बैंकिङ सेवामार्फत मुलुकको आर्थिक विकासमा योगदानलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।


























