काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ ।
आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका व्रतालुहरूले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर विधिपूर्वक पर्व समापन गरेका हुन् । काठमाडौं उपत्यकाका विभिन्न नदी किनार, पोखरी तथा जलाशयहरूमा भेला भएका व्रतालु र श्रद्धालुहरूले भक्तिपूर्ण वातावरणमा सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए ।
सत्य, अहिंसा, शुद्धता र सबै जीवप्रति सद्भावको सन्देश दिने छठ पर्व तराई–मधेशमा विशेष रूपमा मनाइने धार्मिक तथा सांस्कृतिक पर्व हो । पछिल्लो समय यसको लोकप्रियता बढ्दै जाँदा छठले राष्ट्रिय पर्वकै स्वरूप ग्रहण गरेको छ । धार्मिक मान्यताअनुसार छठमा श्रद्धापूर्वक व्रत र पूजा गर्नाले दुःख तथा दरिद्रता हट्ने र सन्तान सुख प्राप्त हुने विश्वास गरिन्छ ।
२०४६ सालअघि तराई–मधेशका सीमित क्षेत्रमा मात्रै मनाइने छठ अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा उत्साहपूर्वक मनाउन थालिएको छ । पर्वको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको थियो ।






























