काठमाडौँ- नेकपा एमालेले राजनीतिक स्थायित्वका लागि प्रधानमन्त्रीसंग नयाँ सहकार्य गरेकोले यसलाई फलदायी बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले जनताको निराशालाई आशामा बदल्ने, मुलुकको राष्ट्रिय हित र स्वाभिमानलाई उच्च बनाउने, विकास र समृद्धिका कामलाई तीव्रता दिने संन्दर्भमा नयाँ सहकार्यलाई फलदायी बनाउने निष्कर्ष निकालेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
बैठकले नयाँ सत्ता समीकरण सकारात्मक रहेको ठहर गर्दै यस प्रक्रियालाई साथ समर्थन गर्न अन्य राजनीति दललाई पनि अनुरोध गरिएको उनले बताए । महासचिव पोखरेलले विकास र समृद्धिका कामलाई तिव्रता दिन नयाँ सहकार्य महत्वपूर्ण हुने जिकिर गरे ।
त्यस्तै बैठकमा पार्टी स्थापनाको ७५ औं वर्षगाठका सन्दर्भमा आगामी वैशाख १० गते आयोजना गर्न लागेको विशेष समारोहको तयारीका बारेमा छलफल भएको उनले जनाए । त्यसअघि बैशाख ८ र ९ गते महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आयोजना गर्ने निर्णय भएको महासचिव पोखरेलले जानकारी दिए ।