काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको तेस्रो खेलमा घरेलू टोली स्कटल्याण्डसँग नेपाल ७ रनको झिनो अन्तरले पराजित भएको छ । ३२४ रनको विशाल चुनौती पच्छ्याइरहेको नेपालले अन्तिम ओभरमा ७ रन जोड्न नसक्दा पराजित हुन पुगेको हो ।


ADVERTISEMENT


स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै ३२१ रनमै समेटिएको हो ।


ADVERTISEMENT

# # #


अन्तिम ओभरमा नेपाललाई ७ रन चाहिएको थियो । पहिलो बलमा करण केसीले २ रन दिए । दोस्रो बल डट खेलेका उनी तेस्रो बलमा क्याच आउट हुन पुगे । चौथो बलमा नेपालले १ रन जोड्यो । पाँचौँ बलमा सन्दीपले १ रन जोडे । तर, अन्तिम बलमा ललित राजवंशी आउट हुन पुगेपछि नेपालले जित नजिक पुगेर पनि हार्न पुगेको हो ।

आजको खेल हारे पनि नेपालले एकदिवसीय क्रिकेटमा बनाएको यो उच्च स्कोर हो । यसका लागि नेपालका भीम सार्कीले ८५ बलमा ८ चौकाको मदतमा ७३ रन तथा सोमपाल कामीले ४४ बलमा ३ चौका र ४ छक्का ठोक्दै ६७ रन बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ५१ बलमा २ चौकाको मदतमा ५६ रन जोडे । आरिफ शेखले ३९ रन बनाउँदा कुशल भुर्तेल र करण केसी समान १७–१७ रनमा आउट भए ।

स्कटल्याण्डका कप्तान रिचि बेरिङ्टन र माइकल लिस्कले शानदार साझेदारी गरेपछि स्कटल्याण्डले विशाल स्कोर खडा गरेको हो । उनीहरुले छैटौँ विकेटका लागि ९३ बलमा १२५ रनको साझेदारी गरे । त्यसक्रममा शतकीय इनिङ खेले बेरिङ्टले ११४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । यस्तै आक्रामक ब्याटिङ गरको लिस्कले ६२ बलमा १२ चौका र ३ छक्का ठोक्दै नटआउट ९६ रन बनाए । यस्तै चार्ली टियरले ५६ बलमा ९ चौकाको मदतमा ६८ रन बनाए । यस्तै मार्क वाटले ९ बलमा नटआउट २१ रन हाने । उनले अन्तिम आभेरमा करण केसीलाई ३ छक्का ठोके भने फिन्ले म्याकार्थले १७ रन जोडे ।

स्कटिस ब्याटरसामू नेपाली बलर निरीह साबित भए । दीपेन्द्रसिंह ऐरी र करण केसीले २ विकेट लिँदा ललित राजवंशीले १ विकेट हात पारे । सन्दीप लामिछाने र सोमपाल कामी विकेटविहीन बने ।

बलिङतर्फ स्कटल्याण्डका म्याकेन्जी जोन्सले सर्वाधिक ३ विकेट लिए । सफायन सरिफ र माइकल लिस्कका नाममा समान २–२ विकेट रह्यो । यस्तै ब्राण्डन म्याकमुलन र चार्ली क्यासेलले समान १–१ विकेट लिए ।

नेपालले सिरिजको अन्तिम खेल मंगलबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

आजको हारसँगै ८ राष्ट्र सहभागी लिग–२ मा नेपालले १५ खेलमध्ये ४ खेलमा मात्रै जित हात पारेको छ भने ९ खेलमा हार व्यहोरेको छ । यस्तै २ खेल अनिर्णित हुँदा र १० अंकसहित अंकतालिकाको सातौँ स्थानमा रहेको छ । यता १९ खेल खेलेको स्कटल्याण्ड ११ जित ६ हार र २ अनिर्णितसहित २४ अंकका साथ तेस्रो स्थानमा उक्लिएको छ ।

यस्तै नेदरल्याण्डले २२ खेलमा १२ जित, ८ हार र २ अनिर्णितसहित २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।