काठमाडौं – यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन्।

एयरलाइन्स व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी विष्टलाई कम्पनीको नेतृत्व सुम्पिएको हो। सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा आबद्ध भएका विष्टले करिब १८ वर्षको व्यावसायिक अनुभवपछि कम्पनीको सर्वोच्च व्यवस्थापकीय जिम्मेवारी पाएका हुन्। उनको नियुक्तिसँगै निवर्तमान सीईओ सुवाष सापकोटालाई व्यवस्थापनले बिदाइ गरेको छ।


ADVERTISEMENT

#


४३ वर्षीय विष्टसँग हवाई उड्डयन क्षेत्रमा व्यावसायिक व्यवस्थापन, व्यवसाय विस्तार तथा संस्थागत सञ्चालनको अनुभव छ। व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका उनले यसअघि यति एयरलाइन्समा प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजरका रूपमा जिम्मेवारी सम्हालिसकेका छन्।

सीबीओका रूपमा रहँदा उनले कम्पनीको व्यावसायिक रणनीति निर्माण, व्यवस्थापन र संस्थागत विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। रणनीतिक व्यावसायिक योजना, कर्पोरेट व्यवस्थापन, एयरलाइन व्यवसाय विकास, कार्यसम्पादन व्यवस्थापन तथा कर्पोरेट सुशासन उनका विशेषज्ञताका क्षेत्र हुन्।


ADVERTISEMENT

#
#


नयाँ जिम्मेवारीसँगै विष्टले एयरलाइन्सको समग्र व्यावसायिक रणनीति, सञ्चालन व्यवस्थापन र संस्थागत वृद्धिको नेतृत्व गर्नेछन्। कम्पनीभित्रै विभिन्न जिम्मेवारी सम्हाल्दै नेतृत्व तहमा पुगेका विष्टको नियुक्तिलाई संस्थाभित्रको लामो अनुभव र व्यवस्थापकीय निरन्तरताका रूपमा पनि हेरिएको छ।

सन् १९९८ मा स्थापना भएको यति एयरलाइन्स नेपालको आन्तरिक हवाई सेवामा स्थापित वायुसेवा कम्पनी हो। कम्पनीले सुरुवाती चरणमा क्यानडामा निर्मित डीएचसी ट्विनअटर विमानबाट व्यावसायिक उडान सुरु गरेको थियो। हाल सातवटा एटीआर–७२ विमानमार्फत आन्तरिक हवाई सेवा सञ्चालन गर्दै आएको छ।

काठमाडौंलाई मुख्य आधार बनाएर यति एयरलाइन्सले पोखरा, विराटनगर, भद्रपुर, जनकपुर, भैरहवा र नेपालगञ्जलगायतका प्रमुख गन्तव्यमा नियमित उडान सेवा प्रदान गर्दै आएको छ।