काठमाडौँ – यही जेठ १३ गतेदेखि काठमाडौँ जिल्लासहित देशभरिका बालबालिकाका लागि पोलियो रोगविरुद्धको खोप ‘आइपिभि’ अभियान सञ्चालन गर्दैछ । सरकारले यसअघि खोप लगाउन छुटेका देशभरिका १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई उक्त खोप लगाउने उद्देश्यसहित अभियान सञ्चालन गर्न लागेको हो ।


ADVERTISEMENT


जनस्वास्थ्य कार्यालय, काठमाडौँले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अभियानका क्रममा काठमाडौँ जिल्लाका एक लाख २५ हजार एक सय १७ बालबालिकालाई खोप लगाइने जनस्वास्थ्य अधिकृत तुलसी सुवेदीले जानकारी दिइन् । उनले काठमाडौँ एक हजार चार सय २१ विद्यालयका अतिरिक्त सात सय ८३ खोप केन्द्र स्थापना गरी खोप प्रदान गरिने र अभियानका लागि दुई सय ७८ स्वास्थ्यकर्मी र पाँच सय ५६ स्वयंसेविका परिचालन गरिने बताइन्।


ADVERTISEMENT

# # #


नेपालमा सन् २०१० देखि नै पोलियो रोग नदेखिए पनि छिमेकीमुलुक पाकिस्तान र अफगानिस्तानमा पोलियो रोगको सङ्क्रमण देखिएकाले खोप अभियान सञ्चालन गर्नुपरेको जनस्वास्थ्य अधिकृत सुवेदीको भनाइ छ । “नेपालबाट ती दुई देशमा आवतजावत भइरहने हुनाले यहाँ पनि सङ्क्रमणको जोखिम रहेको छ । त्यसैले जोखिमलाई मध्यनजर गरी खोप लगाउनुपर्ने अवस्था छ”, उनले भनिन् ।

त्यसक्रममा विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप लगाइने छ । कार्यालय प्रमुख अर्जुनप्रसाद सापकोटाले त्यस अवधिमा विश्वबजारमा ‘आइपिभि’ खोपको अभाव रहेकाले बालबालिकालाई खोप लगाउन नपाइएकाले खोप प्रदान गर्न थालिएको जानकारी दिए । उनले खोप अभियान सञ्चालनका लागि स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिमसमेत दिइएको छ । यही जेठ २६ गतेसम्म हुने खोप अभियानमा स्थानीय तहसँग पनि समन्वय गरिएको उनको भनाइ छ ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी)ले रु ३२ करोड बराबरको खोप उपलब्ध गराइसकेको छ । सरकारले सन् २०२६ सम्म पोलियो उन्मूलन गर्ने लक्ष्य राखेको छ । रासस