काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरसँगको कठिन संघर्षपछि स्वास्थ्यलाभ गरिरहेकी छन्। जन्मदिनको अवसरमा अभिनेता तथा निर्माता दीपकराज गिरीले दीपाश्रीको उपचारका क्रममा देखाएको साहस, आत्मविश्वास र सकारात्मक सोच सम्झिँदै भावुक शुभकामना दिएका छन्।
दीपकराजका अनुसार जटिल मस्तिष्क शल्यक्रियापछि होसमा आएलगत्तै दीपाश्रीले नर्ससँग आफ्ना श्रृंगारका सामग्री ल्याइदिन आग्रह गरेकी थिइन्। आफूलाई चिटिक्क पार्दै उनले ‘म बिरामी जस्तो देखिनु हुन्न, मलाई देखेर अरू बिरामीमा पनि ऊर्जा आउनुपर्छ, बाँच्ने चाहना जाग्नुपर्छ’ भनेकी थिइन्।
चलचित्र ‘माया छपक्कै २’ को छायांकनका क्रममा ब्रेन ट्युमर भएको पत्ता लागेपछि अस्पताल भर्ना भएकी दीपाश्रीले आफ्नै स्वास्थ्यभन्दा चलचित्रको काम रोकिएला भन्ने चिन्ता गरेको दीपकराजले बताएका छन्।
मस्तिष्कको शल्यक्रियापछि करिब १५–२० दिनमै कमेडी च्याम्पियनमा फर्किनुपर्ने र रोकिएको चलचित्रको काम अघि बढाउनुपर्ने भन्दै दीपाश्रीले देखाएको आत्मविश्वासले आफू निकै प्रभावित भएको दीपकराजको भनाइ छ।
उनले दीपाश्रीको साहस र सकारात्मक सोच धेरैका लागि प्रेरणादायी रहेको बताउँदै स्वास्थ्य तथा दीर्घायुको शुभकामना दिएका छन्।





























































