काठमाडौँ – नेकपा एमालेले गिरीबन्धु टी–स्टेटको जग्गा प्रकरणमा आफ्नो पार्टी र अध्यक्षमाथि अनावश्यक आरोप लगाउने काम भएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको बिशेष समयमा बोल्दै उनले गिरीबन्धुको विषयमा बनाएको कानून कार्यान्वयन गर्ने क्रममा कमी कमजोरी भएपनि त्यस विषयमा आफ्ना अध्यक्ष र पार्टीमाथि नियोजित रुपमा अनावश्यक आरोप लगाउने काम भएको बताएका हुन् ।
यसअघि पशुपतिमा जलहरिको कुरा उठ्दा छानबिन गर्न एमालेले सहयोग गरेको भन्दै उनले अहिले आएका सवै विषयमा पनि छानविन गर्न एमाले तयार रहेको बताए । उनले भने, ‘हिजो पशुपतिमा जलहरिको कुरा टाईँटाईँ फिस भयो । आज गिरीबन्धुको कुरा उठाइएको छ । यो संसदले सम्मानित सर्वोच्च अदालतको आदेश अनुसार नै कानुन बनाएको थियो । कानुन बनाउँदा कुनै पनि दलले प्रश्न उठाएनन् । कानुन कार्यान्वयन गर्दा आज हाम्रो अध्यक्षमाथि जसरी नियोजित ढंगले प्रचार गर्ने काम भएको छ, हामी २०४६ सालपछिका सबै विषयमा छानबिनका लागि तयार छ ।’
एनसेल, टेरामस्क, बालमन्दीर, बाँसबारी लगायतका प्रकरणको छानविनमा एमाले उभिन तयार रहेको उनले बताए । भट्टराईले अख्तियार, अदालत लगाएतमा बयान दिन जानु नपरेको एकमात्र पार्टी एमाले भएको दाबी गरे ।
उनले यसअघि सर्वोच्चका प्रधानन्यायाधीश सुशीला कार्की र चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाइएको र अहिले सभामुखमाथि महाभियोग धम्की दिएको भन्दै कसैको धम्कीले एमाले नडराउने बताए । सांसद भट्टराईले काठमाडौं महानगर र सडक डिभिजन कार्यालयको विवादमा एमाले अध्यक्षलाईबीचमा ल्याउने काम गरेको भन्दै आक्रोश व्यक्त गरे ।
पछिल्लो समयमा काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले संयमता गुमाउँदै गरएको उनको भनाई छ । उनले भने, ‘काठमाडौँ महानगरका प्रमुखले संयमता गुमाउँदै जानुभएको छ । उत्तेजना फैलाएर, उच्छृङ्खलता फैलाउनुभएको छ ।’
उनले काठमाडौंलाई सुन्दर बनाउन एमाले पनि सहकार्य गर्न तयार रहेको तर विकासका नाममा समाजलाई विभाजन गर्ने काम कदापी स्वीकार्य नहुने स्पष्ट पारे । बालेनप्रति लाखौ युवाले आशा राखेको तर बालेनले त्यो आशालाई तुसारापात गरेको भट्टराईले बताए ।
उनले भने, ‘तपाईंमाथि लाखौँ युवाले आशा भरोसा तपार्ईमार्फत खोजेका हुन् । तर, पछिल्लो समय तपाईं जसरी जाँदै हुनुहुन्छ, ती युवाको सपनाहरुमाथि तपाईं धोका दिँदै हुनुहुन्छ । मुलुकलाई धोका दिँदै हुनुहुन्छ ।’
उनले नेताहरुले देशका लागि गरेको योगदान र जेल बसाइको निषयलाई पनि मजाकमा उठाउने काम कुनै देशभक्तले गर्न नसुहाउने बताए ।


























































