काठमाडौं- नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वसनीय छानबिनका लागि उच्चस्तरीय न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले सरकारले गठन गरेको छानबिन समिति सरकारकै कमजोरी ढाकछोप गर्ने उद्देश्यमा सीमित हुन सक्ने आशंका व्यक्त गर्दै निष्पक्ष न्यायिक आयोग आवश्यक रहेको जनाएको हो।
पार्टीका प्रवक्ता देवराज चालिसेले सुनसरी घटनामा सरकारी संयमता र जवाफदेहिताको अभाव देखिएको भन्दै सरकार सुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न पूर्ण रूपमा असफल भएको आरोप लगाए। उनले सरकारप्रति जनविश्वास निरन्तर घट्दै गएको पनि बताए।
प्रवक्ता चालिसेले भदौ २३–२४ का घटनासम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगले प्रतिवेदन सार्वजनिक गरिसकेको अवस्थामा त्यसबारे सरकार मौन बसेको भन्दै आपत्ति जनाए। उनले सरकारको उक्त मौनता रहस्यमय रहेको दाबी गरे।
कांग्रेसले विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप गरेको आरोपसमेत लगाएको छ। साथै राहदानी खरिद प्रक्रियामा पारदर्शिता र नियतमाथि गम्भीर प्रश्न उठेको भन्दै सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरेको छ।
त्यस्तै, सम्पत्तिको स्रोत र भ्रष्टाचारसम्बन्धी अनुसन्धानमा सरकारले दोहोरो मापदण्ड अपनाएको कांग्रेसको आरोप छ। प्रवक्ता चालिसेले आफ्नै मन्त्री, उच्च राजनीतिक पदाधिकारी र प्रभावशाली व्यक्तिहरूको सम्पत्तिको स्रोतबारे उठेका सार्वजनिक प्रश्नको अहिलेसम्म जवाफ नआएको बताए।
उनले सरकारले गठन गरेको आयोगको कार्यक्षेत्रबाट वर्तमान पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिने व्यवस्था न्यायसंगत नभएको भन्दै निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।



























































