काठमाडौँ– आगामी साउनलदेखि सवारी चालकले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र देखाउन सकिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षदेखि नयाँ लाइसेन्स लिने र नवीकरण गर्नेहरूलाई राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राखेर दिने भएसंगै सवारी चालकले लाइसेन्सको सट्टा राष्ट्रिय परिचयपत्र देखाउन सकिने भएको हो ।
लाइसेन्स छपाइमा ढिला भइरहेको तथा राष्ट्रिय परिचयपत्र सर्वसाधारण लिन नजाने समस्याको हल गर्न सरकारले परिचयपत्रमा लाइसेन्सको विवरण राख्न लागेको हो ।
गृह मन्त्रालयले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको छ । गृहअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यससम्बन्धी तयारी पूरा गरिसकेको छ ।
साउन शुरुवातीदेखि नै राष्ट्रिय परिचयपत्रमै लाइसेन्सको विवरण राख्ने प्रस्ताव अघि बढिसकेको विभागका निर्देशक मुकेश केसरी बताउँछन् । उनले भने ‘मन्त्रिपरिषद्बाट निर्णय भएपछि लाइसेन्स छाप्न आवश्यक हुँदैन, परिचयपत्रले नै लाइसेन्सको काम गर्छ । ट्राफिक प्रहरीले परिचयपत्रमा हुने क्युआर कोडमार्फत लाइसेन्स चेकजाँच गर्नेछन् ।’



























































