काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफ्नो अभिव्यक्तिलाई अनावश्यक रुपमा टिप्पणी गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले डेडिकेटेड र ट्रंक लाइनको विषयमा आफुलाई अनावश्यक रुपमा लाञ्छना लाएको भन्दै आक्रोश व्यक्त गरे । उनले सदनमा राजनीतिक मतभेदका आधारमा जथाभावी नबोल्न चेतावनी दिए । उनले सदनमा डेडिकेटेड र ट्रंक लाइनको तिर्न बाँकी रकम तिर्नुपछ भन्नेमा सरकार स्पष्ट रहेको बताए ।
ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कुनै दाग नलागेको भन्दै बाँकी जीवन पनि स्वच्छ रुपमा बिताउने जिकिर गरे । कसैमाथि लागेको भ्रष्टाचार छोप्नका लागि अरुमाथि भ्रष्टाचारका लान्छना लगाउने काम नगर्न समेत उनले चेतावनी दिए । ओलीले सदनमा गालीगलौज गर्न नभइ भन्दै देश र जनताको अवस्था परिवर्तन गर्नका लािग आएको जिकिर गरे ।
प्रधानमन्त्रीले धारणा राखिरहदा माओवादी केन्द्रका सांसद वर्षमान पुनले प्रश्नोत्तर कार्यक्रममा प्रश्न बाहिरको विषयमा बोलेको भन्दै नियमापत्ति गरे । त्यसपछि सभामुख देवराज घिमिरेले विषयमा केन्द्रित भएर जवाफ दिन प्रधानमन्त्रीलाई निर्देश गरे । प्रधानमन्त्री ओलीले आफू विषय केन्द्रित रहेको जिकिर गरे ।
आफूले कसैलाई गाली गलौज नगरेको र सचेत मात्रै गराइएको उनले बताए ।



























































