काठमाडौं – सरकारले कायम मुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई नेपाल सरकारको मुख्य सचिव बनाउने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यससँगै गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव बनेकी छन् । निजामती कर्मचारीको सर्वोच्च पद मानिने मुख्यसचिवमा यसअघि कुनै पनि महिला पुगेका थिएनन् ।
मुख्यसचिव डा. वैकुण्ठ अर्याल भ्रष्टाचारको मुद्दामा गत असार ९ गते निलम्बित भएपछि १० असारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गरेको थियो ।
अर्यालको निलम्बनपछि गड्तौलाले निमित्त मुख्यसचिवको जिम्मेवारी सम्हालेकी थिइन् । केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले उनलाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो । आजको निर्णयसँगै उनी अन्ततः उनी मुख्यसचिव बनेकी छन् ।
सहसचिवबाट २०७७ कात्तिक २७ गते सचिवमा बढुवा भएकी गड्तौला ३ वर्ष १० महिने सचिवको कार्यकाल गरेकी थिइन् । उनी यही भदौ १५ गते ५८ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदै थिइन्।



























































