काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेका छन्।
आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत आयोजित युवासँगको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्दै आगामी १५औँ महाधिवेशन विधिसम्मत रूपमा सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
उहाँले पार्टी नेतृत्वप्रति सम्मान रहे पनि विधान र विधिको सीमाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नहुने स्पष्ट पार्नुभयो। पार्टीभित्र रहेका संस्थापन र इतर दुवै पक्षका नेता–कार्यकर्ताले सदस्यता अभियान सफल बनाउन सहयोग गर्नुपर्नेमा जोड दिएका छन्।
महामन्त्री पौडेलले सदस्यता अद्यावधिक अभियानलाई लिएर अनावश्यक भ्रम फैलाइएको भन्दै यसको उद्देश्य पुराना सदस्य हटाउने नभई उनीहरूको विवरण अद्यावधिक गरी एकीकृत अभिलेख तयार गर्नु रहेको स्पष्ट गरेका छन्।
उनले सरकारको १०० दिनको कार्यकालप्रति पनि असन्तुष्टि व्यक्त गर्दै सरकारले जनतामा विश्वास जगाउनेभन्दा आशंका र अन्योल बढाउने काम गरेको आरोप लगाएका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले संघीयता खारेज गर्ने लगायतका संविधानविरोधी नीतिगत निर्णयहरू गरिरहेको आरोप पनि पौडेलले लगाएका छन्। चुनावअघि एउटा र सत्तामा पुगेपछि अर्को चरित्र देखाएको भन्दै लोकतान्त्रिक तथा संसदीय व्यवस्थामै प्रश्न उठाउने गतिविधि स्वीकार्य नहुने उनको भनाई छ
महामन्त्री पौडेलले वर्तमान सरकारको १०० दिनको कार्यकाल पूर्ण रूपमा विवादास्पद र जनअपेक्षाअनुसार हुन नसकेको दाबी गरेका छन्।



























































