काठमाडौँ– आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाले केन्याबाट १७८ रनको चुनौति पाएको छ ।
नामिबियाको विन्डहक खेल मैदानमा टस हारेर ब्याटिङ थालेको केन्याले पूरै ओभर खेलेर ८ विकेटको क्षतीमा १७७ रन बनाएको हो । केन्याका इर्फान करिम बसन्त रेग्मीको बलमा आउट हुनुअघि ४२ रन बनाए । केन्याका लागि एलेक्स ओबान्डाले ४१ रन बनाए ।
त्यस्तै, केन्याका कोलिन्स ओबुयाले २७, नेल्सन ओधियाम्बोले २४ र शम गोचेले २३ रन बनाए ।
नेपालका लागि सन्दीप लामिछाने एकलैले ५ विकेट लिएका छन् । निकै किफाती बलिङ गरेका सन्दीपले नेपाललाई राम्रो लयमा ल्याएका थिए । उनले आफ्नो १० ओभरमा ५ मेडन ओभर राख्दै २० रन खर्चेर ५ विकेट लिएका हुन् । सन्दीपको आजको बलिङ नेपाली खेलाडिको ‘लिस्ट ए’ मान्यतामा अहिलेसम्मकै उत्कृष्ट बलिङ हो ।
त्यस्तै, नेपालका लागि बसन्त रेग्मी, सोमपाल कामी र शरद भेषवाकरले समान १–१ विकेट लिए । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।
नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ ।
जवाफी ब्याटिङमा नेपाल केहिबेरमा उत्रिँदैछ । आजको खेल जित्न सकेमा उत्कष्ट २ मा पर्ने नेपालको सम्भावना प्रचुर रहनेछ ।