काठमाडौँ – एएफसी च्यालेन्ज लिगअन्तर्गतको प्रारम्भिक चरणको खेलमा भुटानको पारो एफसीसँग नेपालको चर्च ब्वाइज युनाइटेड पराजित भएको छ । मंगलबार काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पारोले चर्चब्वाइजलाई २–१ गोलले हराएको हो ।


ADVERTISEMENT


वर्षाका कारण हिलाम्मे बनेको मैदानमा खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफमा पारोले गोल गर्दै जित हात पारेको हो । खेलको ३८औँ मिनेटमा चर्च ब्वाइज युनाइटेडका लाकेन लिम्बुले गोल गरे । मोसेस गाबाले पेनाल्टी बक्समा हेडमार्फत दिएको पासमा लाकेनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।


ADVERTISEMENT

# # #


तर चर्च ब्वाइजको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसको दुई मिनेटमै अर्थात् ४०औँ मिनेटमा पारोका लागि किङ्गा वाङ्चुकले बराबरी गोल फर्काउँदै खेल बराबरीमा ल्याए । चर्च ब्वाइजका गोलकिपर दीप कार्की अघि बढेको अवस्थामा किङ्गाले गोल गर्न सफल भए ।

दोस्रो हाफमा पारोका लागि घानाका विलियम ओपोकुले ६६ औं मिनेटमा गरेको गोल निर्णायक गोल गरे । चर्चब्वाइजले केही अवसर पाए पनि सदुपयोग गर्न सकेन । जितसँगै पारो एफसी प्रतियोगिताको समूह चरणमा प्रवेश गरेको छ भने चर्च ब्वाइज प्रतियोगिताबाट बाहिरिएको छ । भुटानी क्लबले सिनियरस्तरको प्रतियोगितामा नेपाली क्लबलाई हराएको यो पहिलो पटक हो ।

भुटानी लिग च्याम्पियन पारो एफसीले पहिलो रोजाइमा नौ विदेशी खेलाडीलाई मैदानमा उतारेको थियो भने सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइजले तीन जना विदेशी खेलाडी मैदानमा उतारेको थियो ।