काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ठूला दलको गठबन्धन बनाउन कसैले दबाब नदिएको बताएका छन् ।
कांग्रेसका नेता प्रदीप गिरीको दोस्रो स्मृतिमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सहमतिका साथ देशलाई अघि बढाउन नयाँ गठबन्धन बनाइएको भन्दै त्यसका लागि कसैले दबाब नदिएको बताएका हुन् । उनले अहिलेको गठबन्धन कसैको विरोधमा नरहेको समेत स्पष्ट पारे ।
माओवादी लगाएतका ललाई एक गरेर मुलुकको समृद्धि र बिकासमा अघि बढ्ने उनको भनाइ छ । सभापति देउवाले षडयन्त्र गरेर नभई सबैसँग सल्लाह गरेर नै संविधान संशोधन हुने जिकिर गरे ।
त्यस्तै एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरता र सामाजिक अराजकता अहिलेको चुनौती भएको र त्यो सबैको साझा चुनौती भएको बताए । नेपालको राजनीतिलाई विकास र समृद्धिको बाटोमा लैजान स्थिरता आवश्यक रहेको पोखरेलले बताए । निरंकुशताको विरुद्ध धेरै राजनीतिक दल मिल्दा पनि मिसन एउटै हुने उनले स्पष्ट पारे ।
त्यस्तै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले दलहरुबाट भएका कमी कमजोरीको भारी संविधान र मुलुकको प्रणालीलाई बोकाउन नहुने भन्दै आफ्ना कमजोरीको आत्मसमीक्षा गरी सुधारको बाटोमा लाग्नुपर्ने बताए ।
कार्यक्रममा सहभागीहरुले नेपाली राजनीतिकको इतिहासमा समाजवादी चिन्तक स्व. प्रदीप गिरिको भूमिकाको चर्चा गरेका थिए ।


























































