काठमाडौं, साउन २३ । बागमती प्रदेश सरकारले खेलाडीलाई आधुनिक प्रविधिसँग जोड्दै तेक्वान्दो खेलको विकासमा नयाँ पहल थालेको छ । प्रदेश सरकारले नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई अत्याधुनिक खेलकुद सामग्रीसहित इलेक्ट्रोनिक सेन्सर प्रणाली हस्तान्तरण गरेको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा आयोजित विशेष कार्यक्रममा उक्त खेल सामग्री तथा सेन्सर प्रणाली तेक्वान्दो संघका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो ।


ADVERTISEMENT



अन्तर्राष्ट्रियस्तरका तेक्वान्दो प्रतियोगितामा इलेक्ट्रोनिक सेन्सर प्रविधिको प्रयोग महत्वपूर्ण बन्दै गएको अवस्थामा बागमतीका खेलाडीलाई सोहीअनुसारको प्रविधिमा अभ्यस्त गराउने उद्देश्यले प्रदेश सरकारले सामग्री उपलब्ध गराएको जनाएको छ । आधुनिक प्रविधिको प्रयोगबाट खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउँदै उनीहरूको खेल कौशल र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


ADVERTISEMENT

# # #



कार्यक्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकारले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । खेलाडी राष्ट्रको गौरव र पहिचान भएको उल्लेख गर्दै उनले खेलाडीलाई आवश्यक स्रोत, साधन र पूर्वाधार उपलब्ध गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
मुख्यमन्त्री बानियाँले खेलाडीले अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सक्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व भएको बताएका छन् । त्यसका लागि प्रशिक्षण, खेल सामग्री र पूर्वाधारको विकासमा प्रदेश सरकारले आवश्यक सहयोगलाई निरन्तरता दिने उनले बताएका छन् ।


अत्याधुनिक खेल सामग्री र इलेक्ट्रोनिक सेन्सर प्रणालीको उपलब्धताले बागमती प्रदेशका तेक्वान्दो खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीमा थप सहजता पुग्ने विश्वास गरिएको छ । यसबाट खेलाडीको प्रशिक्षण आधुनिक र प्रविधिमैत्री बन्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि उनीहरूको क्षमता विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । कार्यक्रममा बागमती प्रदेशकी वर्तमान युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, पूर्व युवा तथा खेलकुद मन्त्री मिन कृष्ण महर्जन लगायत खेलकुदसँग सरोकार राख्ने व्यक्तित्व तथा अग्रजहरूको उपस्थिति रहेको थियो ।