काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले नेपालीहरुमा मलमा गएर किनमेल गर्ने बानीको विकास भएका कारण सहरका सटर खाली हुन थालेको तर्क गरेका छन् । बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सांसदका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले उक्त जिकिर गरेका हुन् ।
यस विषयमा माओवादी केन्द्रकी सांसद नारायणी शर्माले प्रश्न सोधेकी थिइन् । उनले भनेकी थिइन्, ‘आज सहरका प्राय सटरमा टु–लेट (भाडामा) लेखिएको देखिन्छ । यसरी धराशयी बन्दै गएको व्यापार व्यवसायको उत्थान गर्न र देशको अर्थतन्त्र बलियो र आत्मनिर्भर बनाउन सरकारको योजना के छ ?’
जवाफमा प्रधानमन्त्रीले सटर खाली हुँदैमा अर्थतन्त्र धरायशी भयो भन्ने नमिल्ने बताए । ‘पहिले यस्ता महलहरु खुलेका थिएनन् । लहरै, एउटा घरमा स–साना चारवटा सटर बनाएको हुन्थ्यो । अब छेउमा मल खुलेपछि सबै चिज त्यहाँ पाउने भएकाले एउटा पसलमा एउटा चिज, अर्को पसलमा अर्को चिज खोज्दै हिंड्नुभन्दा मलमा जाने, एउटै ठाउँमा थुप्रै सेवाहरु पाइने भएकाले सटरसटर हिंड्ने परिपाटी कम भएको हो ।’ उनले भने, ‘त्यसैले नकारात्मक ढंगले मात्रै होइन, परिवर्तित परिस्थिति समेत बुझ्नुपर्छ ।’
केही कुराहरु समय अनुसार फरक देखिने बताउँदै उनले थपे, ‘उहिले बाटाभरि भरिया देखिन्थे, भरिया देखिएनन् भनेर अर्थतन्त्र चलायमान भएन भन्न मिल्दैन । एउटै गाडीले १ वटा भरियो भन्दा बढी काम गरिदिन्छ ।’ समयको गतिशीलतालाई समेत हामीले हेर्नुपर्छ ।’


























































