काठमाडौं – नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ (नाइमा) को आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्।


ADVERTISEMENT


विशेष समारोहबीच मंगलबार एक्स्पोको उद्घाटन गरिएको हो। एक्स्पोमा विभिन्न अटोमोबाइल ब्रान्ड, मोबिलिटी कम्पनी, व्यवसायी, सरकारी अधिकारी तथा सम्बन्धित क्षेत्रका सरोकारवालाको सहभागिता रहेको छ।


ADVERTISEMENT

# # #


नाइमा अध्यक्ष ऋतु सिंह वैद्यले एक्स्पो सवारीसाधन प्रदर्शन र बिक्री गर्ने थलोमा मात्र सीमित नभई नेपालको समग्र यातायात तथा आवागमन प्रणालीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना गरिएको बताइन्। उनले पटक–पटक परिवर्तन हुने नीतिगत व्यवस्थाले व्यवसायीमा अन्योल सिर्जना गरेको भन्दै निजी क्षेत्र र सरोकारवालासँग छलफल गरेर मात्र नीति परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्।

नेपाल प्रहरीका महानिरीक्षक काकीले सवारीसाधन बिक्रीसँगै सडक सुरक्षा र सामाजिक उत्तरदायित्वमा पनि व्यवसायीले ध्यान दिनुपर्ने बताए। उनले सवारीसाधन बिक्रीपछि उपलब्ध गराइने सेवामा विशेष ध्यान दिन अटोमोबाइल कम्पनीहरूलाई आग्रह गरे।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई सरकारले केवल राजस्वको स्रोतका रूपमा मात्र हेर्न नहुने बताए। उनले सवारीसाधनलाई विलासिताको वस्तुभन्दा आवश्यकताको क्षेत्रका रूपमा हेर्नुपर्ने धारणा राख्दै विद्युतीय सवारीसाधनका लागि पनि स्थिर नीति आवश्यक रहेको बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व योगदान गर्ने क्षेत्रमध्ये एक भएकाले यसलाई उच्च प्राथमिकतामा राखेर हेर्नुपर्ने बताए। उनले यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी अर्थात् यातायात तथा आवागमन क्षेत्रलाई यातायातको विषयमा मात्र सीमित गर्न नहुने बताए। यो क्षेत्र मुलुकको आर्थिक समृद्धिसँग प्रत्यक्ष जोडिएको भन्दै उनले बैंकिङ, बीमा, पर्यटन, निर्माण तथा सूचना प्रविधिलगायतका क्षेत्रमा समेत यसको प्रभाव रहेको बताए।

एक्स्पोको पहिलो दिन विभिन्न कम्पनी तथा ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। आयोजकका अनुसार एक्स्पो अवधिभर करिब डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोको पहिलो दिन ‘लगानी तथा प्रत्यक्ष वैदेशिक लगानी : आर्थिक वृद्धिको आधार’ विषयमा विशेष छलफलसमेत आयोजना गरिएको थियो। पूर्वबैंकर अनिलकेशरी शाहले सहजीकरण गरेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली तथा नाइमा अध्यक्ष ऋतु सिंह वैद्य सहभागी थिए।

त्यस्तै, पहिलो दिनको सिकाइ सत्रमा मात्रै तीन सयभन्दा बढी सहभागी भएका थिए। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञबाट विभिन्न सिकाइ सत्र, नीतिगत संवाद तथा उद्योग व्यवसायसँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ।

सडक दुर्घटनापछि तत्काल गरिने प्राथमिक उपचार तथा आकस्मिक हेरचाहसम्बन्धी विषयमा ग्रान्ड इन्टरनेसनल अस्पतालका तर्फबाट विशेष जानकारीमूलक प्रस्तुति पनि गरिएको थियो।

आयोजकका अनुसार एक्स्पोले नेपालमा विद्युतीय तथा नयाँ पुस्ताका सवारीसाधन, प्रविधि, पूर्वाधार र समग्र यातायात तथा आवागमन क्षेत्रबारे जानकारी आदानप्रदान तथा व्यावसायिक सहकार्यका लागि महत्वपूर्ण मञ्च प्रदान गर्नेछ।