काठमाडौँ – नेपाल सरकारले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सामाजिक सञ्जाल सञ्चालन निर्देशन, २०८० को दफा ३ अनुसार नेपालमा सूचीकृत हुन तयार रहेको र नेपालका शर्तहरु मान्न तयार भएपछि टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय भएको सकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।
प्रतिबन्ध फुकुवाको निर्णय टिकटकले नेपाल सरकारका शर्तहरु मान्न तयार भएर सम्झौता गरेपछि मात्रै कार्यान्वयन हुने उनले बताए । सबै सामाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन गत साउन २४ गते सञ्चारमन्त्री, सचिव र नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका आधारमा सञ्चार मन्त्रालयले उक्त प्रस्ताव तयार गरेको थियो ।
सामाजिक व्यवस्थामाथि प्रहार भएको भन्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले २०८० कार्तिक २७ गतेको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।


























































