काठमाडौँ – सकारले चर्चित सामाजिक सञ्जाल टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।


ADVERTISEMENT


प्रवक्ता गुरुङका अनुसार टिकटकलाई ४ वटा शर्त पूरा गर्नुपर्ने शर्तमा प्रतिबन्ध खुलाइएको हो । जसमध्ये पहिलो शर्त सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ अनुसार सञ्चारमन्त्रालयमा सूचीकरण हुनुपर्ने तथा दफा ६ अनुसार नेपालभित्र सम्पर्क बिन्दु खोल्नुपर्ने रहेको छ । त्यसमा टिकटकले सहमति जनाइसकको छ ।


ADVERTISEMENT

# # #


त्यसका अतिरिक्त नेपालले टिकटकलाई नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षाका लागि काम गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय र प्रविधिमैत्री बनाउने अभियानमा सहयोग गर्नुपर्ने समेत शर्त राखेको छ ।

यस्तै टिकटक लगायतका त्यस्तै प्रकृतिका सामाजिक सञ्जालमा सार्वजनिक हुने नेपाली भाषा र मातृभाषा समेतका सामग्रीमा समेत नियमन र नियन्त्रण गर्न आवश्यक मापदण्ड निर्धारण गर्नुपर्ने शर्त राखेको छ । यी शर्तहरु टिकटक मान्न तयार रहेको प्रवक्ता गुरुङले बताए ।

सामाजिक व्यवस्थामाथि प्रहार भएको भन्दै गत वर्ष कार्तिक २७ गतेको मन्त्रिपरिषद्ले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यसपश्चात टिकटकले पटकपटक सरकारलाई पत्र लेख्दै सरकारका सबै शर्त मान्न तयार रहेको भन्दै प्रतिबन्ध हटाउन आग्रह गर्दै आएको थियो । तर पनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रक्रिया अघि बढाएको थिएन ।