काठमाडौं – काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने भएको छ ।
महानगरले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहि प्रयास थालनी गर्ने उदेश्यका साथ जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो ।
सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले जनाएको छ । जसमा नीतिगत तथा राजनीतिक संवाद÷राउन्ड टेबल, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्रणाली र फोहोरमैला व्यवस्थापन, बालबालिका तथा युवा जलवायु कार्य दिवस, खाद्य प्रणाली, र अन्तिम दिन नागरिक समाज÷दायित्व तथा ’काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम समावेश रहेको काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।
जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार, बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई एउटै मञ्चमा ल्याई कार्यान्वयन तहमा तत्काल कार्य थालनी गर्ने लक्ष्य राखिएको उनले बताइन् । डंगोलले जाडो महिनामा चिसोसँगै वायु प्रदूषण बढ्ने र काठमाडौँ उपत्यका प्रदूषित सहरको सूचीमा माथिल्लो क्रममा पर्ने गरेकाले वायु प्रदूषण सम्बोधन गर्ने कार्ययोजना पनि जलवायु कार्य सप्ताहकै क्रममा सार्वजनिक गरिने जानकारी दिइन् ।
जलवायु कार्य सप्ताह अन्तर्गत विद्यालयहरूमा फोहोर वर्गीकरण, वृक्षरोपण तथा इको क्लब गतिविधि, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि जलवायुसम्बन्धी भिडियो प्रतियोगिता आयोजना गरिने समेत महानगरले जानकारी दिएको छ ।


























