काठमाडौँ – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरुसंग छलफल गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले साना किसान कृषि सहकारीले गरिरहेको कामकारवाहीदेखि भोग्नुपरेका समस्याका बारेमा प्रतिनिधिहरुसंग छलफल गरेको हो । बैठकमा २८ जनाले आ–आफ्नो संस्था संचालनको अनुभव र स्थितिको जानकारी गराएका थिए । सो क्रममा उनीहरुले साना किसान कृषि सहकारी संस्थामा रकम दुरुपयोगको समस्या नरहेको बताएका थिए ।
उनीहरुले कृषिजन्य वस्तुको बजारीकरण र भुक्तानीको समस्या भने देखिएको गुनासो गरेका थिए । समिति संयोजक सूर्य थापाले धेरै असफलताकाबीच साना किसान कृषि सहकारीको सफलताले अरुलाई प्रेरणा दिने बताए । उनले छानविनका क्रममा भएका छलफलका क्रममा सहकारी क्षेत्रको दर्ता सूचना केन्द्र नरहेका कारण मुख्य समस्या दखिएको जिकिर गरे ।
हाल देशभर १ हजार ३ सय ६९ वटा साना किसान कृषि सहकारी संस्था संचालनमा रहेका छन् । सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न संसदले गत १५ गते छानविन समिति गठन गरेको थियो । समितिको तीनमहिनाको समयअवधि भदौँ २३ गते सकिँदैछ ।
समितिले निर्धारित समयसीमाभित्रै प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी गरेको छ । यद्दपी सो समयमा प्रतिवेदन लेखनको काम सम्पन्न नभए केहि दिन समय माग गर्ने विषयमा पनि छलफल भइरहेको समिति सदस्यहरुले जानकारी दिएका छन् ।