काठमाडौं – चार पटकको विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको राउण्ड अफ ३२ को खेलमा दक्षिण अमेरिकी राष्ट्र पाराग्वेले जर्मनीलाई सडनडेथमा ४–३ ले पराजित गरेको हो ।
पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन् । जर्मनी विश्वकपमा पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो पटक हो ।
सन् २००२ मा जापान कोरियामा भएको विश्वकपको अन्तिम १६ मा जर्मनीसँगै पराजित भएको पाराग्वेले २४ वर्षपछि त्यो हारको बदला समेत लिएको छ ।
निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट तय भएको हो । जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय भएको यो पहिलो खेल हो ।
पाराग्वेले अब फ्रान्स र स्वीडेन बीचको विजेतासँग अन्तिम १६ मा खेल्नेछ । जर्मनी जारी विश्वकपबाट बाहिरिने दोस्रो पूर्व विजेता बनेको छ । यसअघि ने उरुग्वे समूह चरणबाटै बाहिरिसकेको छ ।
पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले पेनाल्टी सुटआउटमा गोल गरे । जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे ।
काभइ हाभार्ट र निक वाल्टमेडको पेनाल्टी पाराग्वेका गोलकिपर ओर्लान्डो गिलले बचाए भने जोनाथन ताहाको प्रहार पोस्ट भन्दा बाहिर गयो । सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई(दुई पेनाल्टी बचाउँदा ३(३ को बराबरी भएको थियो । त्यसपछि छैटौं पेनाल्टी प्रहार गरेका जर्मनीका ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो । त्यसपछि जोसे कानालेले पाराग्वेका लागि निर्णायक पेनाल्टी गोलमा परिणत गरे ।
त्यसअघि जुलियो इनसिसोले ४२औं मिनेटमा गोल गर्दै पाराग्वेलाई पहिले अग्रता दिलाएका थिए भने काई हाभार्टले ५४औं मिनेटमा जर्मनीका लागि बराबरी गोल फर्काएका थिए ।
सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको उपाधि जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा खेल जित्न सकेको छैन । पछिल्लो दुई विश्वकपमा समूह चरणबाटे बाहिरिएको जर्मनी १२ वर्षपछि नकआउट चरण पुगेपनि पहिलो खेलमा पाराग्वेसँग पराजित हुँदा बाहिरिनुपरेको हो ।
पाराग्वेले भने दोस्रो पटक विश्वकपमा जकआउट चरणको खेल जितेको हो ।



























































