काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले वार्षिक प्रतिवेदन पेश गरेको छ ।
बुधबार शितल निवासमा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले राष्ट्रपति पौडेललाई आयोगको आठौं वार्षिक प्रतिवेदन बुझाएका हुन् ।प्रतिवेदन पेशपछि अध्यक्ष ठाकुरले गत आर्थिक बर्षमा बजेट शुन्यता रहेका कारण कार्ययोजना अनुसारको काम गर्न नसकिएको सुनाए ।
उनले आदिवासी भाषा दशक (सन २०२२–३२) चलिरहेको अवस्थामा आयोगले अपेक्षित योगदान गर्न नसकेको, लोप हुन लागेका भाषाहरुको रक्षाका लागि गर्नुपर्ने अभिलेखीकरणका कामहरु, भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुदै गरेका कामहरु पनि अघि बढाउन नसकिएको गुनासो पोखे ।
तथापी प्रदेश सरकार र स्थानीय सरकारहरुसंगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमूखीकरण कार्यक्रमहरु सञ्चालन गर्न सफल भएको उनको भनाई छ । उनले भाषा र सूचना प्रविधिसम्बन्धी सिफारिसमा भाषिक यान्त्रिकीकरण र अनुवाद पद्धतीको विकाससम्बन्धी सिफारिस गरिएको जानकारी दिए ।
मातृभाषाको संरक्षण, नेपालमा बोलिने भाषाको ब्याकरण लेखन, अभिलेखनलगायत कार्य आयोगले गर्दै आएको छ ।



























































