काठमाडौँ– पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजमा पशुपतिनाथ दर्शन गर्न आउँदा महंगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको छ ।
हरितालिका तीजको व्यवस्थापन सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलन गर्दै कोषले पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मंहगा गरगहना र साना बालबालिका लिएर नआउन आग्रह गरेको हो ।
भीडभाडमा गरगहना चोरी हुने, हराउने डर हुने भएकाले गरगहनाले सजिएर नआउन आग्रह गरेको पशुपति विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीको भनाई छ ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको अधिकारी ले बताए । उनका अनुसार मन्दिरको दर्शनका लागि पहिलो लाइन गुह्येश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट, दोस्रो लाइन जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको छ ।
यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट, चौथो लाम बत्तीसपुतली–गौशालातर्फबाट पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गर्ने व्यवस्था मिलाइएको उनले बताए । दर्शनार्थीले छिटोभन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिका चारवटै ढोका खोल्ने सदस्यसचिव थापाले जानकारी दिए ।
यसैगरी भक्तजनको सवारी पार्किङका लागि गुह्येश्वरीपारि, सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालास्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्था गरिएको कोषले बताएको छ । कोषले जुत्ता–चप्पल राख्ने व्यवस्थाका लागि वरुणधारा, कैलाशडाँडामुनि, कोषको कार्यालय, भुवनेश्वरी, वाग्मतीपारि राममन्दिरको मुनि लगायतका स्थानहरु छुट्याइएको पनि जानकारी दिएको छ ।



























































