पोखरा – पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सौगात थापाले औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानका लागि उद्योगी व्यवसायीबीच एकता र सम्बन्धित निकायसँग निरन्तर समन्वय आवश्यक रहेको बताए ।


ADVERTISEMENT


पोखरा औद्योगिक क्षेत्र उद्योग संघले आयोजना गरेको पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले उद्योग सञ्चालनमा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाए।


ADVERTISEMENT

# # #


उनले औद्योगिक क्षेत्रमा पूर्वाधार, बजार व्यवस्थापन, कर तथा नीतिगत जटिलताजस्ता समस्या रहेको उल्लेख गर्दै यस्ता विषयमा उद्योगी व्यवसायी र सरकारी निकायबीच नियमित संवाद आवश्यक रहेको बताएका छन्।

थापाले स्वागत तथा अन्तरक्रिया कार्यक्रमलाई औपचारिकतामा सीमित नगरी औद्योगिक विकासका लागि साझा योजना बनाउने र त्यसलाई कार्यान्वयनमा लैजाने माध्यम बनाउनुपर्ने धारणा राखे।

उनका अनुसार पोखरा औद्योगिक क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि र स्थानीय अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण योगदान दिँदै आएको छ। त्यसैले औद्योगिक क्षेत्रका समस्या समाधान हुँदा त्यसको प्रभाव समग्र स्थानीय अर्थतन्त्रमा पर्ने उनको भनाइ थियो।

‘एउटा उद्योगको समस्या समाधान हुँदा त्यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमा पर्छ,’ थापाले भने, ‘त्यसैले उद्योगी व्यवसायीका समस्या साझा समस्याका रूपमा लिएर समाधानका लागि एकताबद्ध भएर अघि बढ्नुपर्छ।’ उनले स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारीका अवसर विस्तार र नयाँ लगानी आकर्षित गर्ने वातावरण निर्माणका लागि पोखरा उद्योग वाणिज्य संघले सम्बन्धित संघसंस्था तथा सरकारी निकायसँग सहकार्य गर्ने बताए।

पोखरा औद्योगिक क्षेत्र उद्योग संघसँग सहकार्य गर्दै पूर्वाधार विकास, उद्योग सञ्चालनका समस्या समाधान तथा लगानीका नयाँ अवसर सिर्जनाका लागि सामूहिक पहल गरिने पनि उनले बताए।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गौतम, पदाधिकारी, कार्यसमिति सदस्य तथा उद्योगी व्यवसायीहरूको सहभागिता रहेको थियो।