काठमाडौँ– कांग्रेस सभापति शेर बहादुर देउवाले मुलुकको परिवर्तनमा बिपी कोइरालाको योगदान उच्च रहेको बताएका छन् ।
जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्तीको अवसरमा बिपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै कांग्रेस सभापति शेर बहादुर देउवाले मुलुकको परिवर्तनमा बिपी कोइरालाको योगदानको चर्चा गरे ।
बिपी कोइरालाको राजनीतिक तथा साहित्यीक योगदानका बिषयमा खोज गर्नुपर्ने र देशव्यापी बनाउनुपर्नेमा उनले जोड दिए । सभापति देउवाले बिपी सङ्ग्रहालय सुन्दरीजललाई थप व्यवस्थित र प्रभावकारी रुपमा अघि बढाउनुपर्ने यसमा सवैको सहयोग रहने जिकिर गरे ।
त्यस्तै कार्यक्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बिपी कोइरालाको त्यागलाई सवैले आत्मसाथ गर्नुपर्ने बताए । राजनेता बन्न नीति र कर्म चाहिने भन्दै उहाले अहिलेको सभापति शेर बहादुर देउवाले पार्टीका लागि नीति र कर्म गरिसकेकाले त्यागको प्रतिक्षा गरिरहेको जनाए ।
शर्माले उहाले नविन समाज बनाउदै गर्दा त्यसको नेतृत्व कांग्रेसको नविन नेतृत्वले गर्नुपर्नेमा जोड दिए । उनले महासमितिमा नै संविधानको एक्जीट पोलको प्रस्ताव आफुले गरेको भन्दै राष्ट्रपति एकपटकमात्रै बन्न पाउनुपर्ने र प्रधानमन्त्री दुईपटक बन्न पाउने व्यवस्थाले अस्थीरता रोकिने जिकिर गरे ।
त्यस्तै शर्माले बिपी कोइरालाको साहित्यिक योगदानको चर्चा समेत गरे । प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री, संसद्का सभामुख एवं मन्त्रीलाई बन्दी बनाइएको सुन्दरीजल बन्दी गृहलाई विसं २०६१ भदौ २४ गते बिपी सङ्ग्रहालयका रुपमा उद्घाटन गरिएको थियो ।
सङ्ग्रहालयमा बिपीको जीवनका महत्वपूर्ण सामग्रीका साथै विसं २००७ सालको क्रान्तिमा प्रयोग गरिएको ट्याङकर, कांग्रेसले २०३० साल जेठ ३० गते क्रान्तिलाई खर्च जुटाउन अपहरण गरेको नेपाल वायु सेवा निगमको विमान राखिएको छ ।


























































