काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी अधिवेशन प्रक्रिया अविरल वर्षाका कारण प्रभावित भएको छ । देशका विभिन्न भू–भागमा लगातार वर्षा भइरहेका कारण १० असोजका लागि निर्धारण गरिएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका कार्यक्रमहरू प्रभावित भएका हुन् ।


ADVERTISEMENT


मौसम प्रतिकूल भएपछि केही जिल्लामा पूर्वनिर्धारित अधिवेशन कार्यक्रम स्थगित गरिएको छ भने कतिपय जिल्लाले नयाँ मिति तोकेर अधिवेशनको तयारी अघि बढाएका छन् । हालसम्म प्राप्त विवरणअनुसार ओखलढुंगा, भोजपुर, रामेछाप, काभ्रेपलाञ्चोक र कास्कीमा शनिबारका लागि तय भएका प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनहरू प्रभावित भएका छन् ।


ADVERTISEMENT

# # #


ओखलढुंगाका जिल्ला निर्वाचन अधिकृत कृष्णप्रसाद दाहालले शनिबारका लागि निर्धारण गरिएका प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनका सम्पूर्ण निर्वाचन कार्यक्रम हालका लागि स्थगित गरिएको जानकारी दिएका छन्  । वर्षाका कारण अधिवेशन सञ्चालन गर्न सहज अवस्था नरहेपछि कार्यक्रम स्थगित गरिएको उनको भनाई छ ।

स्थगित भएका अधिवेशनका आगामी कार्यक्रम, निर्वाचन प्रक्रिया तथा नयाँ मितिका विषयमा आवश्यक निर्णय पछि गरिने जिल्ला निर्वाचन अधिकृत दाहालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। नयाँ मिति तय भएपछि सम्बन्धित उम्मेदवार तथा प्रतिनिधिहरूलाई जानकारी गराइने जनाइएको छ ।

त्यस्तै, भोजपुरमा पनि वर्षाका कारण कांग्रेसको अधिवेशन प्रक्रिया प्रभावित भएको छ। जिल्ला निर्वाचन अधिकृत तिलक पाण्डेले सूचना जारी गर्दै भोजपुर नगरपालिका अधिवेशन तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।

भोजपुरमा मौसमको अवस्था सामान्य भएपछि निर्वाचनका बाँकी कार्यक्रम पुनः अघि बढाइने तयारी गरिएको छ । निर्वाचन कार्यक्रम स्थगित हुँदा अधिवेशनका लागि तयारी गरिरहेका प्रतिनिधि तथा उम्मेदवारहरूलाई समेत नयाँ तालिकाको प्रतीक्षा गर्नुपर्ने अवस्था आएको छ ।

यता, रामेछापमा शनिबारका लागि तय भएको अधिवेशन पनि लगातारको वर्षाका कारण स्थगित गरिएको छ । रामेछापका निर्वाचन अधिकृत रौनिकराज अर्यालले मौसमका कारण निर्धारित मितिमा अधिवेशन सञ्चालन गर्न नसकिएको जानकारी दिए ।

रामेछापमा भने नयाँ मितिसमेत तय गरिएको छ । निर्वाचन अधिकृत अर्यालका अनुसार १२ असोज बिहान ७ बजेदेखि प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु गर्ने तयारी गरिएको छ । मौसमको अवस्था अनुकूल रहे निर्धारित नयाँ तालिकाअनुसार निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

काभ्रेपलाञ्चोकमा पनि अविरल वर्षाको प्रत्यक्ष प्रभाव कांग्रेसको अधिवेशनमा परेको छ। काभ्रेपलाञ्चोक–२ अन्तर्गत प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन स्थगित गरिएको हो ।

क्षेत्रीय सभापति महेश खरेलले लगातारको वर्षा र मौसमको प्रतिकूल अवस्थाका कारण अधिवेशन स्थगित गरिएको जानकारी  दिएका छन्। उनका अनुसार अधिवेशनका लागि नयाँ मिति तथा निर्वाचन कार्यक्रम अर्को सूचना प्रकाशन गरेर सार्वजनिक गरिनेछ ।

कास्कीमा समेत शनिबारका लागि निर्धारण गरिएको क्षेत्रीय अधिवेशन स्थगित भएको छ । कास्कीका निर्वाचन अधिकृत निरञ्जन राजभण्डारीले केन्द्रीय निर्वाचन समितिको प्रेस विज्ञप्तिका आधारमा क्षेत्रीय अधिवेशन स्थगित गरिएको जानकारी दिएका हुन् ।

कास्कीमा भने १२ असोजदेखि प्रदेशसभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु गर्ने तयारी गरिएको निर्वाचन अधिकृत राजभण्डारीले बताएका छन् । मौसमको अवस्था र स्थानीय परिस्थितिलाई समेत ध्यानमा राखेर निर्वाचन प्रक्रिया अघि बढाइने जनाइएको छ ।

यसअघि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्ति जारी गर्दै क्षेत्रीय अधिवेशनका निर्वाचन कार्यक्रम सम्बन्धित क्षेत्रको मौसमको अवस्था मूल्यांकन गरेर सञ्चालन गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको थियो ।

केन्द्रीय निर्वाचन समितिले मौसम अनुकूल भएका क्षेत्रमा पूर्वनिर्धारित कार्यतालिकाअनुसार नै अधिवेशन सञ्चालन गर्न भनेको छ। तर, मौसम प्रतिकूल रहेका क्षेत्रमा सम्बन्धित जिल्ला तथा क्षेत्रको अवस्थाअनुसार निर्वाचन कार्यक्रम व्यवस्थापन गरी १३ असोजभित्र प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने गरी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

समितिको निर्देशनसँगै कतिपय जिल्लामा तत्कालका लागि अधिवेशन स्थगित गरिएको भए पनि महाधिवेशनको समग्र प्रक्रिया प्रभावित नहोस् भन्ने गरी वैकल्पिक मिति तय गर्न थालिएको छ । यसका लागि सम्बन्धित जिल्ला निर्वाचन अधिकृत, क्षेत्रीय संरचना तथा पार्टीका स्थानीय तहबीच समन्वय गरेर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।

यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पालिका तहको अधिवेशन प्रक्रिया पनि अन्तिम चरणमा पुगेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार हालसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको छ ।

कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत गत ३ असोजदेखि वडा अधिवेशन सुरु गरेको थियो । वडा तहको अधिवेशनपछि पालिका तहका अधिवेशन हुँदै अहिले प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ । क्षेत्रीय अधिवेशनबाट आगामी महाधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोट तथा पार्टीको क्षेत्रीय संरचनासम्बन्धी निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

तर, पछिल्ला दिनमा देशका विभिन्न स्थानमा भइरहेको निरन्तर वर्षा, सडक तथा यातायातमा देखिएको समस्या र स्थानीय मौसमको प्रतिकूल अवस्थाले कांग्रेसको निर्धारित अधिवेशन तालिकामा असर पुर्‍याएको छ । त्यसैले केन्द्रीय निर्वाचन समितिले पनि एकै मितिमा सबै ठाउँमा अधिवेशन गर्नुभन्दा स्थानीय मौसम र परिस्थितिअनुसार निर्वाचन कार्यक्रम व्यवस्थापन गर्न जिल्ला निर्वाचन अधिकृतहरूलाई अधिकार तथा निर्देशन दिएको हो ।

अब स्थगित भएका जिल्लामा मौसमको अवस्था सुधार भएसँगै नयाँ निर्वाचन तालिका सार्वजनिक हुने तथा बाँकी अधिवेशनहरू सम्पन्न गरिने तयारी छ। कांग्रेसले निर्धारित समयभित्र अधिवेशन प्रक्रिया पूरा गर्दै १५औँ महाधिवेशनतर्फको आगामी चरणलाई अघि बढाउने तयारी गरेको छ ।