काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले असोज १ र २ गते हुने काठमाडौंमा हुने राष्ट्रिय भेलाको तयारी अन्तिम चरणमा पुगको जनाएको छ ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रास्वपाले राष्ट्रिय भेलामा करिब १५ सय प्रतिनिधि हुने र भेलाको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनमा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भेलालाई सफल बनाउन तयारी तीव्र रुपमा भइरहेको र प्रतिनिधिहरुको टुङ्गो लागेको जानकारी दिए । उनले राष्ट्रिय भेला महाधिवेशनको समेत तयारीका लागि आयोजना गरिएको र महाधिवेशनका विषयमा आउने प्रश्नहरुको जवाफ भेलामार्फत दिने जिकिर गरे ।
त्यस्तै बुर्लाकोटीले संवैधानिक परिषद्मा आफ्नो बहुमत पुराउन उपसभामुखलाई हटाउने षडयन्त्र भइरहेको बताए । ‘उहाँले लेखेको पत्र उहाँको कार्यालय भन्दा बाहिर गएको पनि छैन । उहाँले स्पष्टीकरण दिईसक्नु भएको छ ।’ उनले भने, ‘तर अहिल आएर त्यो कुरालाई किन बाहिर निकाल्न खोजियो ? संवैधानिक परिषद्मा सत्ता समीकरणको बहुमत नपुग्ने भएपछि ठाउँठाउँमा आफ्ना कार्यकर्ता भर्ती गर्न रास्वपाबाट आएको प्रतिनिधि बाधक हुन्छ भन्ने देखेपछि यो मुद्दालाई राष्ट्रिय बहसमा ल्याइएको हो ।’
पुरानो मितिमा लेखिएको पत्रका आधारमा अहिले विरोध जनाउने कुरा उचित नभएकाले रास्वपाले यसको विरोध गर्ने उनको भनाई छ । राष्ट्रिय भेलामा राजनीतिक, सांगठानिक प्रतिवेदन पेश गरिने र सवै प्रदेशका सभापतिहरुले पनि आ–आफ्नो प्रतिवेदन समेत प्रस्तुत गर्ने रास्वपाले जनाएको छ ।



























































