काठमाडौं – नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख जनरल धीरज सेठ बुधबार पर्यटकीय नगरी पोखरा पुगेका छन्। श्रीमती कोमल सेठसहित पोखरा पुगेका उनले रामबजारस्थित भारतीय पेन्सन वितरण कार्यालयको भ्रमण गरेका छन्।


ADVERTISEMENT


नेपाली र भारतीय सेनाका १६ जनाको टोलीसहित बिहान ९ः३२ बजे पोखरा पुगेका सेठले पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुँदै भारतीय भूतपूर्व सैनिकहरूसँग भेटघाट तथा संवाद गरे। उनले नेपाल–भारत मैत्री विद्यालयका विद्यार्थीलाई मिठाईसमेत वितरण गरेका थिए।


ADVERTISEMENT

# # #


पोखरामा करिब दुई घण्टा बिताएपछि सेठ बिहान ११ः४५ बजे नेपाली सेनाको जहाजमार्फत काठमाडौं फर्किएका छन्। उनको बुधबार नै भारत फर्किने कार्यक्रम रहेको छ।

गत साउन ३१ गते नेपाल आएका भारतीय सेना प्रमुख सेठले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका थिए। नेपाल बसाइका क्रममा उनले प्रधानमन्त्री बालेन्द्र शाहलगायत उच्चपदस्थ अधिकारीसँग शिष्टाचार भेटवार्तासमेत गरेका थिए।