काठमाडौँ – आईसीसी एकदिवसीय विश्वकप लिग–२ को क्यानडा सिरिजको पहिलो खेलमा नेपालले घरेलू टोली क्यानडाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ । क्यानडाको किंग सिटीस्थित क्रिकेट मैदानमा टस जितेर नेपालले घरेलू टोलीलाई पहिले ब्याटिङ गर्न निम्तो दिएको हो ।
खेल नेपाली समय अनुसार राती ८ः४५ बजेदेखि सुरु हुँदैछ । गत फेब्रुअरीमा नामिबिया र नेदरल्याण्डसँग घरेलू मैदानमा खेल्दै लिग–२ को यात्रा सुरु गरेको थियो । त्यसबेला खेलेका ४ मध्ये नेपालले ३ खेलमा हार र १ मा जित निकालेको थियो । त्यसयता भने नेपालले ५० ओभरको खेल पहिलो पटक खेल्न लागेको हो ।
क्यानडाविरुद्ध नेपालको अन्तिम-११
कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।
विश्वकप लिग टु अन्तर्गतको क्यानडामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा घरेलु टोली, नेपाल र ओमान खेल्नेछन् । ८ देश सहभागी लिग–२ मा नेपाल ४ खेलमा २ अंकसहित सातौँ स्थानमा रहेको छ भने क्यानडा ८ खेलमा ४ जितसहित ८ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यता ओमान ४ खेलमा १ जित, २ हार र १ अनिर्णित खेलमार्फत ३ अंक बटुल्दै छैटौँ स्थानमा छ ।
क्यानडा सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी–२० अन्तर्राष्ट्रिय सिरिज पनि खेल्नेछ । त्यसपछि नेपाली टोली उतैबाट लिग–२ को अमेरिका सिरिजका लागि अमेरिका उड्नेछ । त्यहाँ नेपालले घरेलू टोली र स्कटल्याण्डविरुद्ध खेल्नेछ ।



























































