काठमाडौँ – मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले प्रसाईलाई आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रसाईविरुद्ध विभिन्न व्यक्तिले चरित्रहत्या गरेको, वेश्यावृति गरेको आरोप लगाएको तथा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै साईबर ब्यूरोमा उजुरी परेको थियो । सोही आधारमा प्रहरीले अदालतबाट पक्राउ पूर्जी लिएर प्रसाईलाई पक्राउ गरेको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए। उनले भने, “प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत ब्युरोमा जाहेरी दर्ता परेको थियो । जिल्ला अदालत काठमाडौँबाट पक्राउ गर्न अनुमति प्राप्त भएपछि उहाँलाई आज पक्राउ गरिएको हो ।”
प्रहरीको टोली पक्राउ गर्न पुगेपछि प्रसाईले घरको गेट बन्द गरेर बसेको थिए भने प्रहरीमाथि अपशब्द समेत प्रयोग गरेको प्रहारीको भनाई छ । लामो समयसम्म ढोका नखोलेपछि प्रहरीको टोलीले घरको कम्पाउण्डमा छिरेर प्रसाईलाई पक्राउ गरेको हो ।



























































