काठमाडौं- चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सरकारमा सहभागी हुने राजनीतिक दलहरूले राष्ट्रिय हित, शक्ति सन्तुलन र कूटनीतिक संवेदनशीलतालाई गम्भीर रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनले रास्वपाका नेताहरू सरकारमा प्रवेश गरेपछि देशको भूराजनीतिक जटिलता र अन्तर्राष्ट्रिय सम्बन्धको संवेदनशील पक्ष अझ स्पष्ट रूपमा बुझ्न आवश्यक हुने उल्लेख गरेका छन्। सानो कमजोरी वा गलत निर्णयले पनि देशमा भू–राजनीतिक दबाब बढ्न सक्ने भन्दै उनले राष्ट्रिय स्वतन्त्रता र हितको रक्षा गर्न नेतृत्व अझ सुदृढ हुनुपर्नेमा जोड दिएका छन्।
ज्ञवालीले नयाँ सरकार गठन भएको करिब १०० दिनको सन्दर्भ उल्लेख गर्दै प्रारम्भिक निर्णय र गतिविधिले लोकतन्त्र, शक्ति सन्तुलन र पारदर्शितामाथि प्रश्न उठेको टिप्पणी पनि गरेका छन्। ती प्रश्नहरूको जवाफ राजनीतिक दलहरूले जनतासामु आफ्नो कामबाट दिनुपर्ने उनको भनाइ थियो।
उनले लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन राजनीतिक व्यवहार जिम्मेवार र पारदर्शी हुनुपर्ने उल्लेख गर्दै रास्वपा नेतृत्वलाई ‘स्पिड बढाउने एक्सिलरेटर मात्र होइन, सन्तुलित स्टेयरिङ’ जस्तो भूमिका आवश्यक हुने सुझाव समेत दिएका छन्।



























































