काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका छन् ।
संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ बर्ष पुरा भएको अवस्थामा यसलाई थप स्थायीत्व दिन संशोधन जरुरी रहेको भन्दै यस बिषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका हुन् ।
उनले सबैको सहमति र सहकार्यका साथै समझदारीका साथ संविधान संशोधनको निकास निकाल्नुपर्ने धारणा राखे । संविधान संशोधनको विषय सरकारको नभई संसदले प्रक्रिया मिलाएर टुङ्गो लगाउने बिषय भएको उनको भनाइ छ । उहाले संविधान संशोधनको पक्ष–बिपक्षमा नारावाजी हुनु दुखद कुरा भएको उल्लेख गरे । सभामुख घिमिरेले संविधान कार्यान्वयनका क्रममा जनताले भोगेका अनुभवलाई लिएर संशोधन गर्नुपर्ने भन्दै यसलाई हार वा जितको विषय बनाउन नहुने बताए ।
उनले संविधान कार्यन्वयनका क्रममा प्रयाप्त ध्यान दिन नसकेको र प्रर्याप्त ऐन बनाउन नसकिएको जिकिर गरे । जसका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको उनको भनाइ छ ।



























































