काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विकास र समृद्धिको यात्रालाई सफल बनाउन सबै पक्षबीच सहकार्य, समन्वय र एकता आवश्यक रहेको बताएका छन्।
दुर्गानगर विकास समाजद्वारा आयोजित भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले समाजको समग्र विकासका लागि स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताएका छन्। विकास निर्माणका योजना जनताको आवश्यकता र अपेक्षाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै उनले प्रदेश सरकार सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहमार्फत नागरिकको जीवनस्तर उकास्न प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।
मुख्यमन्त्री बानियाँले विकास निर्माण कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने भन्दै राजनीतिक दल, स्थानीय तह, नागरिक समाज तथा सरोकारवाला निकायबीच बलियो समन्वय आवश्यक रहेको धारणा राखेका छन्। उनले जनमुखी विकास र समृद्ध समाज निर्माण प्रदेश सरकारको मुख्य लक्ष्य रहेको स्पष्ट पारेका छन्।
साथै, समाजमा आपसी सद्भाव, सहिष्णुता र सहकार्यको वातावरण कायम राख्न सबैले साझा जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले एकताबद्ध प्रयासबाट मात्रै दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताएका छन्।



























































