काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार काठमाडौंको किर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस–एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दाबी गरेका हुन् । केही समयभित्रै कांग्रेस–एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए । प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे ।


ADVERTISEMENT

# # #


सरकारबाट निक्लिँदै गर्दा कार्यकताहरु सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनले बताए । त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिद्धाउने षड्यन्त्र हुदै आएको भन्दै षडयन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकिर गरे । ठूला दलहरु मिलेर अहिलेसम्मको उपलब्धिलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनको भनाइ छ ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा रहेको बताए । केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताए ।

उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए । प्रचण्डले लोकतान्त्रीक पद्दती अनुसार संगठनका नेतृत्व चयन गर्न सुझाव दिदै संगठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारे । नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशन समेत दिए ।