बागमती – अविरल वर्षाका कारण कुलेखानी प्रथम जलविद्युत् केन्द्रको बाँध भरिने अवस्थामा पुगेकाले उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।


ADVERTISEMENT


मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले आज साँझ सूचना जारी गर्दै कुलेखानी ड्याम केही घण्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने देखिएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वागमती नदी किनारका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने देखिएकाले तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ एलर्ट’ रहन प्रजिअ चितुवालले आग्रह गरे। मकवानपुर जिल्ला विपद् व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले तदनुरूप सुरक्षित स्थानको पूर्वतयारी गर्नुहुन समेत अनुरोध गरिएको उनले बताए ।

अविरल वर्षासँगै पहिरो खस्दाँ हेटौँडा-काठमाडौँ जोड्ने दुवै सडक अवरुद्ध

अविरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो खस्दा हेटौंडा–काठमाडौं जोड्ने दुवै सडक अवरुद्ध भएका छन् । मकवानपुरको बकैया गाउँपालिका—१२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा बिहीबारदेखि अवरुद्ध कान्तिलोकपथ सडक अझै सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, भिमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका—२ सिमखोलास्थित खहरे खोलामा पानीको बहाब बढेपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । मकवानपुरको ईन्द्रशरोवर गाउँपालिका—२ सुकौरास्थित भिमफेदी–कुलेखानी–फाखेल–काठमाडौँ सडकखण्डमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ । वर्षासँगै मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका—३ रामचन्द्र भञ्याङस्थित सिस्नेरी–दक्षिणकाली सडकखण्डमा पहिरो खस्दाँ सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका—११ आँपचौर र लाम्राङस्थित कान्तीलोकपथ सडकखण्डमा पहिरो खसेर यहाँ पनि सडक पूर्ण रूपमा अवरुद्ध भएको र पहिरो हटाउने कार्य भइरहे पनि वर्षा जारिरहेकाले समस्या भइरहेको जनाइएको छ । रासस