काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबननको लडाकु समूह हिज्बुल्लाहबीचको युद्धका कारण समस्यामा परेका नेपालीको छिटै उद्दार गरिने बताएकी छन् ।
संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग (एसिडी) को तेस्रो सम्मेलनमा भाग लिएर शुक्रबार स्वदेश फर्किएकी मन्त्री राणाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा युद्धका कारण लेबननमा रहेका नेपालीको उद्दारका लागि नाम संकलन भइरहेको जानकारी दिइन् ।
उनले समस्यमा परेका नेपालीहरु सम्पर्कमा आउन नसकेकाले तत्काल सम्पर्कमा ल्याउन पनि परिवारजनलाई आग्रह गरिन् । उनले आफ्नो भ्रमण सफल भएको पनि जानकारी दिइन् । सो क्रममा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका प्रतिनिधिहरुसंग फलदायी कुराकानी भएको मन्त्री राणाले बताइन् । आपसी हित र चासोका विविध विषयहरुका साथै आगामी दिनमा थप सम्बन्ध विस्तार र सहकार्यबारे अन्य राष्ट्रहरुसंग छलफल भएको उनको भनाइ छ ।
एसिडीको बैठकमा एसियाली क्षेत्रमा बढ्दो रुपमा देखिएको युद्ध र द्वन्द्वको अवस्था ठूलो चिन्ताको विषय देखिएको धारणा राखेको उनले बताइन् । त्यस्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा महिला प्रतिनिधित्वका बारेमा पनि आवाज उठाएको जानकारी दिइन् ।


























































