काठमाडौं- भारतको जेसीबी इन्डियाले भोटेकोशी बाढीपछिको उद्धार कार्यमा महत्वपूर्ण योगदान पुर्याएका दुई नेपाली ग्राहकलाई सम्मान गरेको छ।
जेसीबी इन्डियाले नेपाली ग्राहक ऐनबहादुर राउत र नेत्रबहादुर अधिकारीलाई बाढी उद्धारमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको हो। भारतमा जारी ‘बाउमा कन्सएक्सपो इन्डिया–२०२६’ प्रदर्शनी अन्तर्गत जेसीबी प्याभिलियनमा आयोजित कार्यक्रममा जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक दीपक शेट्टीले उनीहरूलाई सम्मान गरेका हुन्।
राउत र अधिकारीले जेसीबी २२१ ट्र्याक्ड एक्स्काभेटरसहित अन्य मेसिन प्रयोग गरी त्रिशूली–३ ए क्षेत्रमा केही दिन उद्धार कार्यमा खटिएका थिए। उनीहरूको प्रयासबाट त्यहाँ फसेका दुई जनालाई जीवितै उद्धार गर्न सम्भव भएको जेसीबी इन्डियाले जनाएको छ।
सम्मान कार्यक्रममा जेसीबी इन्डियाका सीईओ शेट्टीले नेपालमा देखिएको विपत्तिका बीच राउत र अधिकारीको प्रयासले आशा जगाएको बताउनुभयो। साहसिक उद्धार कार्य गरे पनि उनीहरू अत्यन्त सरल र विनम्र रहेको उनको भनाई छ।
यसैबीच, नेपालमा जेसीबीको आधिकारिक डिलर एमएडब्लू अर्थमुभर्सले नुवाकोट र धादिङमा उद्धार, राहत तथा पुनर्निर्माणमा प्रयोग भइरहेका जेसीबी मेसिनका लागि विशेष निःशुल्क सेवा शिविर सञ्चालन गरिरहेको जनाएको छ।
जेसीबी वाओ सर्भिसका सवारीसाधनमार्फत सञ्चालन भइरहेको ‘जेसीबी डिजास्टर रिलिफ स्पेसल फ्रि सर्भिस क्याम्प’बाट उद्धार तथा पुनर्निर्माणमा परिचालित मेसिनलाई आवश्यक सेवा उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ। जोखिमपूर्ण अवस्थामा काम गरिरहेका मेसिन चालक तथा अपरेटरलाई सुरक्षा सामग्रीसमेत वितरण गरिएको छ।
नेपालमा पुनःस्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेका बेला ग्राहक तथा मेसिन अपरेटरलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता एमएडब्लू अर्थमुभर्सले जनाएको छ।































































